भिजिट भिसा प्रकरण : दिल्लीबाट फर्काइएका ११ पीडितद्वारा मानव तस्करविरुद्ध जाहेरी

काठमाडौँ, ११ साउन । भारतको बाटो प्रयोग गरी नेपालीलाई अवैध रूपमा विदेश पठाउने मानव तस्कर
गिरोहविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।

हालै नयाँ दिल्लीबाट उद्धार गरी फर्काइएका ४७ जनामध्ये ११ जनाले नक्कली कागजात बनाउने गिरोहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका हुन्।

साउन ६ गते (जुलाई २२) साउदी एयरको उडानबाट यात्रा गर्न लागेका उनीहरूलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली यात्रा अनुमतिपत्र (एनओसी) र प्रहरी रिपोर्टका आधारमा रोकिएको थियो। भारतीय अध्यागमनले उनीहरूलाई नेपालको दूतावासको जिम्मा लगाएपछि माइती नेपालको सहकार्यमा स्वदेश फिर्ता ल्याइएको थियो।

स्वदेश फर्किएका ४७ मध्ये अधिकांशले गिरोहबारे मुख खोल्न मानेनन्। यद्यपि, ११ जना पीडितले गिरोहका सदस्यहरूको नाम, हुलिया र सम्भावित ठेगानाबारे विस्तृत जानकारी दिएपछि प्रहरीले आइतबार औपचारिक रूपमा मुद्दा दर्ता गरेको हो।

ब्युरो प्रमुख, एसएसपी कृष्णप्रसाद पंगेनीले प्राप्त सूचनाका आधारमा गिरोहका सदस्यहरूको पहिचान र खोजी कार्य जारी रहेको तर अनुसन्धानको गोपनीयताका लागि थप विवरण खुलाउन नमिल्ने बताउनुभयो।

प्रहरी अनुसन्धान अनुसार, यो गिरोहले भारतका विभिन्न स्थानमा नेपालीहरूका लागि नक्कली कागजात तयार पार्ने गरेको खुलेको छ। नियमअनुसार, नेपाली नागरिकले भारतबाट तेस्रो मुलुक जान नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्छ। तर, गिरोहले यही प्रक्रिया छल्न नक्कली कागजातको सहारा लिएको थियो। ब्युरोका अनुसार, पीडितहरूले समेत आफ्नो पहिचान गोप्य राख्न अनुरोध गरेका छन्।