मलेसियामाथि नेपालको सानदार जित, लगातार दोस्रो सफलता

 

काठमाडौँ, १८ भदौ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियाको बाङ्गीमा बिहीबार भएको खेलमा घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले महत्वपूर्ण २ अङ्क जोडेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई हराएको थियो ।

मलेसियाले प्रस्तुत गरेको १०४ रनको सामान्य लक्ष्यलाई नेपालले २१.४ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा युवा ओपनर अर्जुन कुमालले उत्कृष्ट प्रदर्शन गरे । उनले ६८ बलमा ४ चौकाको मद्दतले अविजित ४५ रनको जिम्मेवारीपूर्ण इनिङ्स खेले ।
त्यसैगरी, इसान पाण्डेले २० रन जोडे भने दीपेन्द्रसिंह ऐरी १२ र कप्तान रोहितकुमार पौडेल १० रनमा आउट भए । मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया नेपाली बलरहरूको घातक बलिङ सामु ३२.३ ओभरमा मात्र १०३ रनमा अलआउट भयो । मलेसियालाई सस्तैमा समेट्न करण केसीले सानदार बलिङ गर्दै ४ विकेट लिए ।

ललितनारायण राजवंशीले २ विकेट झारे भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे । मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन र अकिल वाहिदले २४ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अङ्कको स्कोर छुन सकेनन् ।

समूह ‘ए’ मा रहेको नेपालले दुई खेलबाट ४ अङ्क जोड्दै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपाली टोलीले अब आफ्नो तेस्रो खेल आगामी भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ ।