भोटेकोशी बाढी : मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारलाई भेटेर महानिरीक्षक पौडेलले दिए सान्त्वना

काठमाडौँ, १८ भदौ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारजनसँग भेट गरी सहानुभूति प्रकट गर्नुभएको छ।

महानिरीक्षक पौडेलले बिहीबार नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित घरमै पुगेर मृतक सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। बाढीको समयमा कर्तव्य निर्वाहको सिलसिलामा ज्यान गुमाउनुभएका कुँवरका परिवारलाई भेट्दै उहाँले संगठनले एक साहसी सदस्य गुमाएको बताउँदै गहिरो समवेदना व्यक्त गर्नुभयो।

सोही अवसरमा महानिरीक्षक पौडेलले बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेट गर्नुभयो। उहाँले परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै बेपत्ताहरूको खोजी कार्यलाई संगठनले निरन्तरता दिइरहेको जानकारी दिनुभयो। “आशिषसहित बेपत्ता भएका हाम्रा सबै १३ जना कर्मचारीहरूको खोजी र उद्धारमा हामी कुनै कसर बाँकी राख्ने छैनौँ,” उहाँले स्पष्ट पार्नुभयो।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी सशस्त्र प्रहरी बलका कुल १३ जना कर्मचारीहरू सम्पर्कविहीन भएका थिए। सुरक्षा निकायहरूले आफ्नो जनशक्तिको खोजीका लागि प्रभावित क्षेत्रमा विशेष टोलीहरू परिचालन गरेका छन्।