लाङटाङ खोला जलविद्युतको सुरुङभित्र भेटिए दुई शव

काठमाडौँ, १८ भदौ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुई जनाको शव निकालिएको छ। बाढीपछि सुरुङमा थुनिएकाहरूको खोजी र उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुईवटा शव फेला पारी बाहिर निकालेको हो।

आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार मुख्य सुरुङ मार्ग ढुङ्गा, माटो र लेदोले थुनिएपछि उद्धार टोलीले वैकल्पिक मार्गको प्रयोग गरी शव निकाल्न सफल भएको हो। बुधबार हाइड्रो-मेकानिकल इन्जिनियरसहितको ७–८ जनाको प्राविधिक टोली आयोजनाको खाली ‘पेनस्टक पाइप’ भित्र पसेर करिब १५० मिटर माथिसम्म पुग्न सफल भएको थियो। सोही मार्गको प्रयोग गरी आज सेनाले शवहरू बाहिर ल्याएको हो।

२० मेगावाट क्षमताको यस लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत कुल २५ जना कर्मचारी र कामदारहरू बाढी आएदेखि नै सम्पर्कविहीन छन्। महाप्रबन्धक भट्टराईले बाँकी बेपत्ताहरूको खोजी कार्य जारी रहेको र सुरुङभित्रको जटिल अवस्थाका बाबजुद पनि उद्धार टोली सक्रिय रहेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *