नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, पहिरो पन्छाएको केहीबेरमै फेरि खस्यो
चितवन, १ भदौ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोला नजिक पहिरो खस्दा सडक फेरि दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
बिहान खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याएको केहीबेरमै सोही स्थानमा पुनः पहिरो खसेपछि राजमार्ग ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको र यातायात आवागमन रोकिएको जानकारी दिनुभयो। पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।
यसअघि आजै बिहान सोही सडकखण्डमा माथिबाट खसेको ढुङ्गाले लाग्दा एक स्कुटर चालक घाइते भएका थिए। मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००३ प ३८१६ नम्बरको स्कुटरमा ढुङ्गा लाग्दा चालक चितवनको रत्ननगर-३ निवासी सन्दिप रिजालको खुट्टामा चोट लागेको थियो।
लगातारको वर्षाका कारण यस सडकखण्डमा बारम्बार पहिरो खस्दा यात्रुहरूले सास्ती भोग्दै आएका छन्।