३ प्रतिशत पूर्ण छात्रवृत्तिकाे विराेधमा निजी विद्यालय सञ्चालकहरूले गरे सडक प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

काठमाडौं, ६ भदाै । विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूको विरोधमा आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूले शुक्रबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन्।

निजी विद्यालयले अति विपन्न र गरिबलाई ३ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रस्ताव प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले पारित गरेको छ । तर, निजी विद्यालय सञ्चालकहरू पूर्ण छात्रवृत्ति दिने पक्षमा छैनन् ।

आन्दोलनरत् निजी शिक्षकहरू माइतीघरबाट र्‍यालीसहित बानेश्वर पुगेर  संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच सामान्य धकेलाधकेल समेत भएको थियो।

आन्दोलनको कार्यक्रमअनुसार, प्रदर्शनकारीहरू बानेश्वरबाट संसद भवन अगाडिको सडकमा पुगेर धर्ना दिने योजनामा थिए। तर, उक्त क्षेत्र निषेधित भएकाले सुरक्षाकर्मीले उनीहरूलाई अगाडि बढ्न दिएनन्, जसका कारण केहीबेर तनावको स्थिति सिर्जना भएको थियो।

यसअघि आजै, आन्दोलनरत सञ्चालकहरूले काठमाडौंको चक्रपथका विभिन्न चोकहरूमा आफ्ना गाडी तेर्स्याएर यातायात अवरुद्ध समेत गरेका थिए।