रोल्पा पहिरो अपडेट: ४ जनाको शव फेला, ९ जना अझै बेपत्ता (मृतक र बेपत्ताको नामावलीसहित)

रोल्पा, २८ साउन । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको विनाशकारी पहिरोमा परी मृत्यु हुने चारै जनाको सनाखत भएको छ। अविरल वर्षासँगै खसेको पहिरोले बस्ती पुर्दा अहिलेसम्म ४ जनाको ज्यान गएको पुष्टि भएको हो भने ९ जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेहरूमा थवाङ–५ कै बासिन्दा रहेका छन्:
१. १८ वर्षीया शान्ती पुन मगर
२. ६० वर्षीय कमलबहादुर पुन मगर
३. ७५ वर्षीय दलबहादुर पुन मगर
४. ८० वर्षीया मनखना पुन मगर

पहिरोमा पुरिएर गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ। उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

पहिरोको लेदोमा पुरिएर बेपत्ता भएका ९ जनाको अवस्था अझै अज्ञात छ। बेपत्ता हुनेहरूमा:
३८ वर्षीया जुनकुमारी पुन मगर
९ वर्षीय अशिम पुन मगर
५ वर्षीय अशोक पुन मगर
८० वर्षीय अजम्बर पुन मगर
८० वर्षीय बलबहादुर पुन मगर
६१ वर्षीय लिलबहादुर पुन मगर
६६ वर्षीया मनी पुन मगर
८५ वर्षीया हस्तकला रोका मगर
३४ वर्षीय महेन्द्र घर्ती रहेकाछन् ।

बेपत्ताहरूको खोजीका लागि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीको टोली बिहानैदेखि खटिएको छ। यद्यपि, भौगोलिक विकटता र निरन्तरको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। बुधबार राति घरमा सुतिरहेकै अवस्थामा माथिबाट खसेको ठूलो पहिरोले घरहरू पुरेको थियो।