प्युठानको माडी खोला किनारमा पाँच शव फेला, रोल्पाको थवाङ पहिरोमा बेपत्ता भएकाहरूको हुन सक्ने प्रहरीको अनुमान

बुटवल, २८ साउन । प्युठानको स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा बिहीबार पाँचवटा शव फेला परेका छन्। ती शव गएराति रोल्पाको थवाङ गाउँपालिका–५, बोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले माडी खोला किनारमा पाँचवटा शव फेला परेको पुष्टि गर्नुभयो। प्युठान क्षेत्रमा हाल पहिरो गएको वा मानिस हराएको कुनै घटना दर्ता नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले बगाएर शव यहाँसम्म ल्याएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि तस्बिरहरू रोल्पा प्रहरीलाई पठाइएको डीएसपी अधिकारीले जानकारी दिनुभयो।

रोल्पा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पनि रोल्पाको लुङ्गी खोला बगेर माडी खोलामै मिसिने भएकाले पहिरोमा परेर बगेकाहरूको शव प्युठानमा भेटिएको हुन सक्ने प्रचुर सम्भावना रहेको बताउनुभयो। “लुङ्गी खोला माडीमै मिसिन्छ, त्यसैले गएराति पहिरोले बगाएर बेपत्ता भएकाहरूका शव प्युठानमा भेटिएको हुन सक्ने सम्भावना धेरै छ,” उहाँले भन्नुभयो।

रोल्पाको थवाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गएराति पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने दुई जना गम्भीर घाइते भएका छन्। उक्त घटनामा अझै नौ जना बेपत्ता रहेका छन्। प्युठानमा फेला परेका पाँचवटा शव तिनै बेपत्ता भएका व्यक्तिहरूको हुन् वा होइनन् भन्नेबारे थप सनाखत तथा कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।