उपचारपछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा, राष्ट्रिय एकता र मेलमिलापका लागि अपिल

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका सिलसिलामा सिंगापुर र हङकङमा पाँच महिना बिताएर बुधबार स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उहाँले एक अपील जारी गर्दै मुलुकमा राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता औँल्याउनुभएको छ।

विमानस्थलमा ओर्लिएपछि जारी अपीलमा नेता देउवाले आफू शक्ति आर्जनका लागि नभई राष्ट्रिय एकतालाई सुदृढ गर्न स्वदेश फर्किएको स्पष्ट पार्नुभएको छ। उहाँले वि.सं. २०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने भनी गर्नुभएको उद्घोषलाई स्मरण गर्दै अहिले फेरि ४७ वर्षपछि राष्ट्रिय एकता मजबुत बनाउन सर्वपक्षीय एकताको आवश्यकता देखिएको उल्लेख गर्नुभएको छ।

नेता देउवाले प्रतिशोधभन्दा पनि आपसी मेलमिलाप र सहमतिको मार्ग रोज्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ। “म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु, विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,” उहाँले अपीलमा भन्नुभएको छ। यसका साथै उहाँले नेपाली कांग्रेसभित्र देखिएका आन्तरिक असहमति र निराशालाई तुरुन्त समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

कांग्रेस एकताबद्ध भएर संसद्मा रहेका अन्य क्रियाशील राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने वर्तमान आवश्यकता रहेको देउवाको भनाइ छ। संसद्मा अङ्कगणित तलमाथि भए पनि वि.सं. २००७ सालदेखिका सबै राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको दाबी उहाँले गर्नुभयो।

उहाँले पार्टीको आन्तरिक विवादले राष्ट्रियता नै कमजोर हुन सक्ने चेतावनी दिँदै युवा नेतृत्वलाई प्रोत्साहन गरिनुपर्ने तर अनुभवी पाका नेताहरू खराब हुन् भन्ने गलत भाष्य सिर्जना गर्न नहुने धारणा राख्नुभयो।