मर्मतसम्भारका लागि भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने
काठमाडौँ, २८ साउन । पाटन सबस्टेसनको मर्मतसम्भारका लागि भोलि भदौ २९ गते बिहान ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेसनको ६६ के.भी. बसबार मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ५:०० बजेदेखि ७:०० बजेसम्म सबस्टेसनबाट विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द (शटडाउन) गर्न लागिएको हो।
शटडाउनका कारण पाटन सबस्टेसनबाट फिडर लाइन जोडिएका ललितपुरका अधिकांश क्षेत्रहरूमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ। मर्मतसम्भारको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार तत्काल नियमित गरिनेछ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।