इन्द्रजात्राको रौनक: रङरोगन र सजावटले झकिझकाउ बन्दै वसन्तपुर

काठमाडौँ, ९ भदौ। काठमाडौँको मुटु वसन्तपुर क्षेत्र यतिबेला इन्द्रजात्राको तयारीले झकिझकाउ बनेको छ। उपत्यकाको सबैभन्दा ठूलो जात्रा नजिकिँदै गर्दा गद्दी बैठकदेखि कुमारी घरसम्म रङरोगन, सरसफाइ र सजावटको कामले तीव्रता पाएको छ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका अनुसार, राष्ट्रप्रमुख सहभागी हुने गद्दी बैठक वरिपरि विशेष सरसफाइ र रङरोगन भइरहेको छ। कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले मठमन्दिरमा झल्लर र बत्ती राख्ने, जात्राको रुट मर्मत गर्ने तथा स्वयंसेवक र आर्थिक व्यवस्थापनको काम पनि द्रुत गतिमा अघि बढेको जानकारी दिनुभयो। “यो जात्रा उपत्यकाको पहिचान हो, यसले बेग्लै रौनक ल्याउँछ,” उहाँले भन्नुभयो।

जात्राको पहिलो दिन लाखे, भैरव, दश अवतारजस्ता विभिन्न देवगणका नाचहरू प्रस्तुत गरिन्छ। तेस्रो दिनदेखि जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा सुरु हुन्छ, जुन जात्राको मुख्य आकर्षण हो। रथले वसन्तपुर, असन, इन्द्रचोक लगायतका ऐतिहासिक शहर परिक्रमा गर्छ।

इन्द्रजात्राको अर्को महत्त्वपूर्ण पक्ष ‘योंसी’ अर्थात् इन्द्रध्वज हो। काभ्रेको नाला जङ्गलमा तान्त्रिक विधिबाट पूजा गरिएको बोकोले छोएको रूखलाई काटेर ल्याइन्छ र कालभैरव अगाडि विधिपूर्वक ठड्याइन्छ। यही लिङ्गो ठड्याएपछि जात्राको औपचारिक सुरुवात हुन्छ।

करिब ३०० वर्षअघि राजा जयप्रकाश मल्लले सुरु गरेको यो जात्रा स्वर्गका राजा इन्द्रको पृथ्वी आगमनसँग जोडिएको छ। भाद्र शुक्ल द्वादशीमा लिङ्गो ठड्याएर सुरु हुने यो पर्व ‘यंलागाः चौथी’का दिन लिङ्गो ढालेपछि विधिवत् रूपमा समापन हुन्छ।