अनुमतिविना विदेशी शैक्षिक कार्यक्रम चलाउने संस्थालाई कारबाहीको चेतावनी
काठमाडौँ, २६ असार । शिक्षा तथा खेलकुद मन्त्रालयले मुलुकमा प्रचलित कानुनी प्रक्रिया र मन्त्रालयको पूर्वस्वीकृति विना ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायतका विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयले हालै स्वीकृत नयाँ नियमावलीको कार्यान्वयन गर्दै शैक्षिक अराजकता नियन्त्रण गर्न यस्तो कदम चालेको हो। गत बुधबारको मन्त्रिपरिषद् बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेसँगै सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालित कार्यक्रमहरूको नियमनलाई थप प्रभावकारी र नतिजामुखी बनाउन खोजेको छ। यस नियमावलीले वैदेशिक शैक्षिक संस्था वा विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन हुने कार्यक्रमका लागि नयाँ र कडा मापदण्डहरू तय गरेको छ।
शिक्षा मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाहरूले प्रचलित कानुनको धज्जी उडाउँदै अनुमति नै नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ। मन्त्रालयले यस्ता अवैध संस्थाहरूबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा सूचना उपलब्ध गराउन सरोकारवाला तथा नागरिकहरूमाझ विशेष आग्रह गरेको छ। प्राप्त सूचनाका आधारमा मन्त्रालयले तत्काल स्थलगत अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
नयाँ नियमावलीको मुख्य उद्देश्य उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्नु र विद्यार्थीलाई सम्भावित ठगी वा अवैध शैक्षिक प्रमाणपत्रको जोखिमबाट जोगाउनु रहेको मन्त्रालयले स्पष्ट पारेको छ। यस अन्तर्गत अबदेखि विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिनुअघि मन्त्रालयको अनिवार्य पूर्वस्वीकृति लिनुपर्नेछ र सञ्चालित कार्यक्रमहरूको नियमित गुणस्तर परीक्षण गरिनेछ।