चितवनमा २५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्तीलाई ‘डार्ट’ गर्न निकुञ्जको टोली असफल

चितवन, २६ असार । चितवन राष्ट्रिय निकुञ्जले कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ लाई नियन्त्रणमा लिई त्यसको दाह्रा काट्ने प्रक्रिया अघि बढाए पनि हालसम्म सफलता हात लाग्न सकेको छैन। निकुञ्जले ‘डार्ट’ प्रविधिमार्फत हात्तीलाई बेहोस बनाई नियन्त्रणमा लिने प्रयास गरे तापनि घना जङ्गल र हात्तीको अस्थिर उपस्थितिका कारण अपरेसन जटिल बनेको छ।

गत शनिबार भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेलाई ‘ध्रुवे’ ले आक्रमण गरी मारेपछि निकुञ्ज प्रशासनले यसलाई नियन्त्रणमा लिने निर्णय गरेको थियो। हात्तीलाई नियन्त्रणमा लिन निकुञ्जले २५ जना अनुभवी प्राविधिक, हात्तीसारका कर्मचारी र संरक्षणकर्मीहरूको विशेष टोली परिचालन गरेको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाका अनुसार ‘ध्रुवे’ ले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। यसअघि विसं २०७४ मा नेपाली सेनाका एक सेनानी (मेजर) को ज्यान लिएको ‘ध्रुवे’ ले करिब नौ वर्षको अन्तरालपछि पुनः आमा–छोराको हत्या गरेर आतङ्क सिर्जना गरेको हो। यसको उग्र स्वभाव र मानवीय बस्तीमा पुर्‍याउने क्षतिका कारण निकुञ्जले यसलाई उच्च जोखिमयुक्त जनावरको सूचीमा राखेको छ।