तीन दिनको गिरावटपछि नेप्सेमा हरियाली, कारोबार रकम भने घट्यो

काठमाडौँ, ९ भदाै । लगातार तीन दिनको गिरावटपछि साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा सुधार आएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। यद्यपि, परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

आज बजारमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको साढे ६ अर्बभन्दा कम हो। कुल ३१७ कम्पनीको १ करोड ८ लाख कित्ताभन्दा बढी शेयर कारोबार भयो।
आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढ्यो। नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर समायोजन भएकाले पनि मूल्य बढेको हो। यस्तै, साना किसान लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको मूल्य पनि ५ प्रतिशतभन्दा बढीले बढ्यो।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ७६ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो। त्यसपछि हिमालयन रि-इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको उच्च कारोबार भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटामा हरियाली छायो भने उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक भने ओरालो लाग्यो।