शुक्लाफाँट निकुञ्जका तालहरू सङ्कटमा : जलवायु परिवर्तन र बजेट अभाव

काठमाडौँ, भदौ १८ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरू जलवायु परिवर्तन, जलकुम्भी र अन्य झारपातका कारण सुक्दै र पुरिँदै गएका छन् । बजेटको अभावले गर्दा यी महत्त्वपूर्ण तालहरूको संरक्षणमा गम्भीर चुनौती थपिएको निकुञ्जका अधिकारीहरूको  भनाइ छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी ताललगायतका ठूला प्राकृतिक तालहरू जलकुम्भी र झारपातले ढाकिँदै गएका छन् भने कतिपय सुक्ने क्रममा छन् । यी तालहरू निकुञ्जभित्रका वन्यजन्तुका लागि पानीको मुख्य स्रोत भएकाले यिनको विनाशले वन्यजन्तुको जीवनमा प्रत्यक्ष असर पर्ने देखिएको छ । वाग्लेले निकुञ्जसँग पुँजीगत बजेटका रूपमा ३४ लाख रुपियाँ मात्र रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यति रकमले निकुञ्जभित्र पर्यटकपथ निर्माण गर्नुपर्ने र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्ने बाध्यता छ ।” निकुञ्ज क्षेत्रमा प्राकृतिक तालहरूका अतिरिक्त ४० वटा कृत्रिम तालहरू पनि रहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण स्थल हो र यो स्वदेशी तथा विदेशी पर्यटकका लागि एक आकर्षक गन्तव्य मानिन्छ । यहाँ असङ्ख्य जीवजन्तु तथा वनस्पति पाइन्छन् भने धेरै सानाठूला तालतलैयाहरू छन्, जुन यस क्षेत्रको महत्त्वपूर्ण सिमसार प्रणालीका हिस्सा हुन् । सूचना अधिकारी वाग्लेले यस सिमसार क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभएको छ ।