तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

काठमाडौँ, फागुन २३ । तेह्रथुम जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सुब्बाले ११ हजार ५६१ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले दिनुभएको जानकारी अनुसार, सुब्बाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केन्द्रीय सचिव भानुभक्त ढकाललाई ८७९ मतान्तरले पराजित गर्नुभएको छ। पराजित ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि उल्लेख्य मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

विजयी भएसँगै सुब्बालाई प्रमाणपत्र हस्तान्तरणको तयारी भइरहेको छ ।