हुम्ला मतगणना : नेकपाका दीपेन्द्र रोकायाको अग्रता कायमै

काठमाडौँ, फागुन २३ । हिमाली जिल्ला हुम्लाको प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायाले आफ्नो सुरुवाती अग्रतालाई निरन्तरता दिनुभएको छ । शुक्रबार राति ढिला गरी सुरु भएको मतगणनामा रोकायाले सुरुदेखि नै अग्रता कायम राख्नुभएको हो।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार, ताँजकोट र अदानचुली गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ। प्राप्त मतपरिणाम अनुसार नेकपाका उम्मेदवार रोकायाले २ हजार ३७७ मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा एमालेका उम्मेदवार दल फडेराले १ हजार ८४६ मतका साथ पछ्याइरहनुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया १ हजार १६१ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ।

जिल्लामा खसेको कूल २२ हजार ४६७ मतमध्ये हालसम्म ५ हजार ६३१ मतको गणना भइसकेको छ। अहिले चङ्खेली गाउँपालिकाको मतगणना कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। हुम्लामा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ।