कांग्रेसको पदाधिकारी बैठक केन्द्रीय कार्यालय सानेपामा बस्दै

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बस्ने र बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । साथै बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने उहाँले बताउनुभयो ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो ।

प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवामाथि उहाँकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहनुुभएका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोेडफोड भएको थियो । उक्त प्रदर्शन पछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।