विश्वकप छनोटमा फारोइ आइल्यान्डसँग चेक स्तब्ध
लन्डन, २७ असोज । विश्वकप छनोटअन्तर्गत युरोपेली समूहमा फारोइ आइल्यान्डको अनपेक्षित स्वप्निल यात्रा कायम छ । फिफा वरीयतामा १३६ औँ स्थानमा रहेको तथा ५४० स्क्वायर माइल्स क्षेत्रफल र मात्र ५५ हजार जनसङ्ख्या भएको फारोइ आइल्यान्डले आइतबार राति बलियो चेक गणतन्त्रलाई २–१ ले स्तब्ध पारेको छ ।
यस जितसँगै फारोइ आइल्यान्डले पहिलो पटक विश्वकप खेल्ने सम्भावना पनि देखिएको छ । पछिल्ला पाँच छनोट खेलमा चार जित प्राप्त गरेर फारोइ आइल्यान्ड अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानमा रहेको चेक गणतन्त्रभन्दा फारोइ आइल्यान्ड मात्र एक अङ्कले पछाडी छ । यस समूह क्रोसिया शीर्ष स्थानमा रहेको छ । क्रोसियाले जिब्रालटारलाई ३–० ले हरायो ।
खेलको ६७ औँ मिनेटमा हानस सोरेनसनको गोलबाट फारोइ आइल्यान्डले नै अग्रता बनाएको थियो । खेलको ७८ औँ मिनेटमा चेकका एडम काराबेकले खेललाई बराबरी गोल गरे । त्यसपछि सब्स्टीचयूट् खेलाडी मार्टिन आग्नारसन खेलको ८१ औँ मिनेटमा निर्णायक गोल गरेपछि फारोइ आइल्यान्डले ठूलो जित हात पार्यो ।