पोखराको अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्दै

गण्डकी, ३१ असोज । पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। दसैँको पूर्णिमापछि पर्यटकको आकर्षण विस्तारै बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार, बिहीबार मात्रै एक हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन्।

पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि स्थापना गरिएको यो सङ्ग्रहालय अहिले आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। यहाँबाट हिमाली जीवनशैली, पर्वतीय संस्कृति, रीतिरिवाज, वेषभूषा, कला, संस्कृति र भौगोलिक अवस्थाबारे जानकारी प्राप्त गर्न सकिन्छ।

सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमाल, सात हजार पाँच सयदेखि सात हजार ९९९ मिटर उचाइसम्मका ४० वटा, छ हजारदेखि छ हजार ९९९ मिटरसम्मका ६०३ वटासहित कुल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेषभूषा, संस्कृति तथा उपयोग गर्दै आएका विभिन्न सामग्रीहरू सङ्ग्रह गरी प्रदर्शनका लागि राखिएका छन्।

निर्देशक न्यौपानेका अनुसार, सङ्ग्रहालयमा प्रवेशका लागि विद्यार्थीका लागि रु ८०, नेपाली नागरिकका लागि १५०, सार्क राष्ट्रका पर्यटकका लागि ३५० र अन्य विदेशी पर्यटकका लागि ७५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। यसले पर्वतीय पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।