पहिरोको जोखिमले टोखा–छहरे सडकमा राति सवारी चलाउन रोक
नुवाकोट, ३ भदौ । वर्षाका कारण सडकमा पहिरो र लेदो (गेग्रान) खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले भदौ १ गतेदेखि अर्को सूचना नभएसम्मका लागि दैनिक ७ घण्टा सवारी गुड्न रोक लगाएको हो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार हरेक दिन राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा वर्षासँगै माथिबाट लेदो र ढुङ्गा खस्ने जोखिम उच्च रहेकाले सम्भावित दुर्घटना रोक्न यो कदम चालिएको उहाँले बताउनुभयो ।
प्रशासनले रातिको समयमा सडक बन्द गरे पनि एम्बुलेन्स, दमकल र अन्य आकस्मिक सेवाका सवारीसाधनलाई भने आवश्यकताअनुसार सुरक्षाकर्मीको समन्वयमा सञ्चालन गर्न दिइने जनाएको छ ।
टोखा–छहरे सडक काठमाडौँबाट नुवाकोट हुँदै धादिङ र चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सबैभन्दा छोटो र मुख्य मार्ग हो । वर्षायाममा यो सडकका विभिन्न स्थानमा पहिरो जाने समस्याले गर्दा यात्रा जोखिमपूर्ण बन्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेष गरी रातको समयमा सडक यात्रा नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई अपील गर्नुभएको छ ।