कैलालीको सामुदायिक वनभित्र गोली लागेर एकको मृत्यु, एक जना पक्राउ
कैलाली, ३ भदौ । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित एक सामुदायिक वनभित्र बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ । बर्दगोरिया–३ स्थित लालीगुराँस सामुदायिक वनमा सोमबार राति बन्दुकको गोली लागेर विश्वकर्माको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जङ्गलभित्र अचानक बन्दुक पड्किएपछि विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । घटना लगत्तै प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले घटनाको समयमा विश्वकर्मासँगै जङ्गल गएका अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिसँग सोधपुछ भइरहेको र घटनालाई शङ्कास्पद रूपमा लिइएको प्रहरीले जनाएको छ । “बन्दुक कसले र किन चलाएको हो भन्ने अझै एकिन भएको छैन,” प्रहरी निरीक्षक विष्टले भन्नुभयो, “विश्वकर्माले नै बोकेको बन्दुक अचानक पड्किएको हो वा सँगै गएका व्यक्तिबाट गोली चलेको हो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौँ ।”
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई परीक्षणका लागि अस्पताल पठाएको छ । जङ्गलमा अवैध सिकारका लागि गएको समयमा दुर्घटना भएको हो वा अन्य कुनै कारण छ भन्नेबारे सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।