नेपाललाई हराएपछि इरान थ्री नेसन्स कप महिला फुटबलको च्याम्पियन

काठमाडौँ, ७ कात्तिक । थ्री नेसन्स कप महिला फुटबल प्रतियोगितामा नेपाल शुक्रबार इरानसँग ३-० ले पराजित भएको छ । नेपालले पहिलो खेलमै हार वेहोरेको हो । इरानको भने यो दोस्रो जित हो । इरानले लगातार जितसँगै तीन टिम सहभागी थ्री नेसन्स कपको उपाधि पनि जित्यो ।

इरानले आफ्नो पहिलो खेलमा घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो । अब नेपालले सोमबार भारतसँगै खेल्नेछ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालविरुद्ध इरानले दोस्रो हाफमा दस मिनेटमा तीन गोल गरेको हो । खेलको४७ औँ मिनेटमा सारा दिदारले पहिलो गोल गर्नुभयो । डिबक्समा नेपालकी डिफेन्डर विमला विकले राम्रो सँग मार्क गर्न नसकेको फाइदा उठाउँदै साराले नेपालकी गोलकिपर एन्जिा सुब्बासँगको वन भर्सेज वनमा गोल गरिन् ।

खेलको ५३ औँ मिनेटमा जाहारा घानबारीले फ्रिकिकमा गोल गरी नेपाललाइ दुई गोलले पछाडि पारिन् । चार मिनेटपछि सबनम बेहेसितले लामो दुरीबाट सीधै बल गोलपोस्टमा छिराएर स्कोर ३–० पारिन् ।