बजेटको अन्तिम तयारी: अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई ब्रिफिङ, भोलि अपराह्न ४ बजे सार्वजनिक गरिँदै
काठमाडौँ, १४ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई विस्तृत ब्रिफिङ गर्नुभएको छ। बिहीबार अपराह्न राष्ट्रपति भवन शीतल निवास पुगेर उहाँले आगामी बजेटका मुख्य प्राथमिकता, सिद्धान्त र सरकारको आर्थिक कार्यदिशाबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको हो।
भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले संसद्मा पेस गरिएको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ र ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन’ समेत राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गर्नुभयो। राष्ट्रपति र अर्थमन्त्रीबीच आगामी बजेटले समेट्ने नीति तथा कार्यक्रमहरूका विषयमा पनि संक्षिप्त छलफल भएको शीतल निवास स्रोतले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री डा. वाग्लेले भोलि (शुक्रबार, जेठ १५ गते) अपराह्न ४:०० बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ।