जेठ १७ देखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
काठमाडौँ, १४ जेठ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा आगामी जेठ १७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०८३’ सञ्चालन हुने भएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा तीनदिने महोत्सव आयोजना हुन लागेको हो ।
काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा जेठ १९ गतेसम्म चल्ने उक्त महोत्सवमा विभिन्न समुदायका सांस्कृतिक तथा ऐतिहासिक पक्ष समेटिएका चलचित्रहरू प्रदर्शन गरिनेछन् । महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी र राजवङ्शी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्रका साथै एआई (Artificial Intelligence) प्रविधिबाट निर्मित वृत्तचित्रसमेत देखाइने महोत्सव निर्देशक सागर केरुङले जानकारी दिनुभयो ।
महोत्सव निर्देशक केरुङका अनुसार यो महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई आदिवासी जनजातिको सभ्यता, अस्तित्व र सांस्कृतिक सार्वभौमिकतालाई विश्वसामु उजागर गर्ने एउटा सशक्त माध्यम हो । यसले नेपाललाई विश्व आदिवासी चलचित्रको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास आयोजकको छ ।
महोत्सवमा कथानक चलचित्रतर्फ ‘रित’, ‘स्वयनगु’, ‘ङोल्स्यो रामरानी’, ‘ह्याङ तामाङ’ र ‘दिलसरा’ प्रदर्शन हुनेछन् । त्यस्तै, लघु चलचित्रतर्फ ‘तङसिङ’, ‘दुखला ग्यम’, ‘निको पहिचान’ र ‘लाहुरेनी’ तथा वृत्तचित्रतर्फ ‘आग्रे’, ‘लदि पूजा’ र एआई जेनेरेटेड ‘विराटनगरके प्राचीन राजवङ्शी’ प्रदर्शन गरिने कार्यतालिका छ ।
महोत्सवका बारेमा जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष अमृतबहादुर सुनुवार, फोनिजका अध्यक्ष समीर बलामी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । महोत्सवले चलचित्रकर्मी र सांस्कृतिक अभियन्ताहरूबीच संवाद र सहकार्यको नयाँ वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।