बाँके र बर्दिया जोड्ने पूर्वाधार

नेपालगञ्ज गुलरिया सडक खण्डमा पक्की पुल निर्माण हुँदै

काठमाडौँ, कार्तिक १३ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा चार लेनको नयाँ पुल निर्माण कार्य सुरु भएको छ। खजुरा गाउँपालिका–३ पेडारी नालामा बन्ने यो पुलले ६ दशक पुरानो साँघुरो र जीर्ण पुललाई प्रतिस्थापन गर्नेछ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार, यो पुल निर्माणका लागि ८ करोड ९६ लाख ३ हजार ४६८ रुपियाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ । आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यातायात व्यवस्थापनका लागि, नयाँ पुलको एक भाग निर्माण नभएसम्म पुरानो पुल नभत्काइने र एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिने पाण्डेले बताउनुभयो । हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि बन्न नसकेको यो चार लेनको पुल निर्माण भएपछि वर्षायाममा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।