पर्यटन प्रवर्धनका लागि पूर्वाधार

पर्यटन प्रवर्धन र आयआर्जनका लागि तलाउसहितको मन्दिर निर्माण सुरु

काठमाडौँ, कार्तिक १३ । स्याङ्जाको भीरकोट नगरपालिका–४ सिसौघारीमा धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने र आयआर्जनको स्रोतका रूपमा विकास गर्ने उद्देश्यले मन्दिरसहितको तलाउ निर्माण कार्य सुरु भएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत यो परियोजना अगाडि बढाइएको हो । विभागका इन्जिनियर अच्युत पौडेलका अनुसार, तलाउ, मन्दिर र त्यहाँसम्म पुग्ने पक्की सडक निर्माण गरिनेछ ।

“आयआर्जनको स्रोतका रूपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ,” इन्जिनियर पौडेलले भन्नुभयो, “त्यहाँसम्म पुग्नका लागि पक्की पहुँच मार्ग पनि निर्माण गरिनेछ। यो सम्पूर्ण परियोजनाका लागि १२ करोड ८० लाख रुपियाँ विनियोजन गरिएको छ ।”

आगामी फागुनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तलाउमा निर्माण गरिने मन्दिरमा शिवपार्वती र गणेशको मूर्तिहरू प्रतिस्थापन गरिने बताइएको छ ।