विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
काठमाडौँ, कार्तिक २७ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै विद्यालयहरूमा स्वचालित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्राहरूलाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले यो मेसिन जडान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभएअनुसार, गाउँपालिकाले हालसम्म १२ सामुदायिक विद्यालयमध्ये नौ वटामा मेसिन जडान गरिसकेको छ र बाँकी विद्यालयहरूमा चाँडै जडान गरिनेछ । “अघिल्ला वर्षहरूमा हामीले विद्यालयमा सेनेटरी प्याड पठाउने गर्थ्यौँ,” अध्यक्ष राईले भन्नुभयो, “तर धेरै छात्राहरूले लाजका कारण मागेर प्रयोग गर्न हिचकिचाउने गर्थे। अब यो मेसिनबाट उनीहरूले सहजै र गोप्य रूपमा आफैँले लिन सक्नेछन् ।”
गाउँपालिकाले पहिलो चरणमा सात माध्यमिक विद्यालय र पाँच आधारभूत विद्यालयमा यस्तो मेसिन जडान गर्ने योजना बनाएको छ । मेसिनमार्फत कार्ड प्रणालीको प्रयोग गरी छात्राहरूले आवश्यक सेनेटरी प्याड विद्यालयमा नै लिन सक्नेछन् ।
शिक्षा शाखाका अनुसार, महिनावारीका कारण छात्राहरूको विद्यालयमा उपस्थिति दर घट्ने समस्या समाधान गर्न यो योजना प्रभावकारी हुनेछ । मेसिन जडान भएपछि छात्राहरूलाई आत्मसम्मानका साथ विद्यालय आउन सहयोग पुग्ने शाखाले जनाएको छ । विद्यालयमा नै प्याड वितरण भएसँगै छात्राहरूको उपस्थितिको दर बढ्ने शाखाको विश्वास छ । गाउँपालिकाले आगामी चरणमा अन्य विद्यालयमा यस्ता मेसिन जडान गर्ने, साथै विद्यार्थीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।