एमाले सचिवालय बैठक आज पनि बस्दै : बाँकी पदाधिकारीले धारणा राख्ने, कार्यविभाजनको टुङ्गो लाग्ने

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (शनिबार) पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ः३० बजे बैठक सुरु हुने कार्यसूची रहेको छ ।

पार्टीको आन्तरिक अवस्था र हालै सम्पन्न निर्वाचनका विषयमा समीक्षा गर्न शुक्रबारदेखि सुरु भएको बैठक आज निर्णायक बन्ने देखिएको छ । हिजोको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टीको समग्र अवस्थाबारे आ–आफ्नो समीक्षात्मक धारणा राखेपछि बैठक स्थगित भएको थियो ।

उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा बाँकी १२ जना पदाधिकारीहरूले बोल्ने सूची छ । “हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा निकै लामो र गहन छलफल भयो,” भट्टले भन्नुभयो, “आज बाँकी पदाधिकारीहरूले आफ्ना धारणा राख्नुहुनेछ र त्यसपछि मात्र नेताहरूको कार्यविभाजनको विषयमा प्रवेश गरिनेछ ।”

एघारौँ महाधिवेशनपछि नेताहरूको स्थायी जिम्मेवारी बाँडफाँटका लागि यो बैठक महत्त्वपूर्ण मानिएको छ । हिजोको छलफलमा आएका सुझाव र नेतृत्वमाथि उठेका प्रश्नका आधारमा अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्तावित सूचीमा केही हेरफेर गर्न सक्ने सङ्केत समेत पाइएको छ ।

आजको बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिई ‘अन्तरपार्टी निर्देशन’ (अपानि) जारी गर्ने तयारी एमालेको छ । बैठकमा पार्टी पुनर्गठन र आगामी स्थानीय तहको निर्वाचन लक्षित कार्ययोजनाका विषयमा समेत ठोस छलफल हुने बताइएको छ ।