अन्तर्राष्ट्रिय मैत्री फुटबलमा नेपाल र बङगलादेश बराबर

काठमाडौँ, २७ कात्तिक । अनन्त तामाङले इन्जुरी समयमा गरेको गोलको सहयोगमा नेपालले बिहिबार भएको खेलमा घरेलु टिम बङगलादेशलाई २–२ ले बराबरीमा रोक्न सफल भएको छ ।

बङगलादेशको ढाकास्थित राष्ट्रिय रङगशालामा भएको खेलको २९ औँ मिनेटमा उपकप्तान रोहित चन्दले गरेको गोलबाट नेपालले अनपेक्षित अग्रता बनाएको थियो । रोहितको यो दोस्रो अन्तर्राष्ट्रिय गोल भएको छ ।

\यद्यपि उत्तरार्धको पहिलो मिनेटमै स्टार खेलाडी हम्जा चौधरीले ‘ओभरहेड किक’मार्फत् गोल गरी खेल बराबर गरे । तीन मिनेटपछि नै हम्जाको पेनाल्टी गोलबाट बङगलादेशले अग्रता बनयो । नेपालका डिफेन्डर सुमन श्रेष्ठले डिबक्समा रकिब हुसेनलाई लडाएपछि बङगलादेशले पेनाल्टी पाएको हो । यद्यपि अनन्तले इन्जुरी समयमा कर्नरमा प्राप्त बललाई ‘ब्याकहिल फ्लिक’मार्फत गोल गरेर खेल बराबर गरे ।

गत भदौमा यी दुई टिमबिच दशरथ रङगशालामा भएको मैत्री खेल गोलरहित बराबरीमा सकिएको थियो । नेपाल र बङगलादेशले एएफसी एसियन कप छनोटअन्तर्गत मैत्री खेल खेलेका हुन् ।