विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको तलब दिन शिक्षामन्त्री पुनकाे आग्रह
काठमाडौं, १० मङ्सिर । शिक्षामन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकलाई सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गर्नुभएको छ।
मन्त्री पुनले न्यूनतम तलब नदिने स्थानीय तहहरूलाई स्मरण गराउँदै शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि रु. १२,०००, विद्यालय सहयोगीका लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीका लागि रु. १५,००० तलब संघीय अनुदानबाट पठाइसकेको जानकारी गराउँदै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा नघट्ने गरी स्थानीय सरकारले थपेर दिन आग्रर गरेका हुन् ।
अहिलेसम्म झण्डै ७०० वटा स्थानीय सरकारले थप रकम दिएर न्यूनतम पारिश्रमिकअनुसार तलब खुवाएको जानकारी मन्त्रालयलाई आएको बताउँदै उहाँले भन्नुभयो, “यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु।”
बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्न मन्त्री पुनले विशेष आग्रह गर्नुभएको छ।