३ करोडको अवैध सुनसहित सुर्खेतका व्यापारी अग्रवाल पक्राउ, पैसा गन्ने मेसिन र भारतीय रुपैयाँ पनि बरामद

सुर्खेत, १९ जेठ । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठूलो परिमाणको सुन र नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६ राजाचोकस्थित ‘शिव ईम्पोरियम’ पसलका सञ्चालक श्यामसुन्दर अग्रवाललाई करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गहनासहित प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, विशेष सूचनाको आधारमा जेठ १८ गते उक्त पसलमा छापा मारिएको थियो। सो क्रममा १८५ थान विभिन्न बट्टा, पोका र डिब्बामा राखिएका सुन तथा चाँदीका गरगहनाहरू बरामद गरिएको हो।

सुनचाँदी: १८५ थान बट्टामा राखिएको (अनुमानित मूल्य रु ३ करोड)।
नेपाली नगद: २ लाख १९ हजार ५०० रुपैयाँ।
भारतीय नगद: ८ लाख ११ हजार ९०० रुपैयाँ।
अन्य: पैसा गन्न प्रयोग गरिने १ थान मेसिन।

डीएसपी बोहराले बरामद गरिएको सुनको स्रोत नखुलेकाले अग्रवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो। यति ठूलो परिमाणमा सुन र भारतीय मुद्रा फेला परेपछि प्रहरीले यसमा अवैध कारोबार वा तस्करीको संलग्नता हुनसक्ने आशङ्का गरेको छ।

पक्राउ परेका व्यापारीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। प्रहरीले सुनको वास्तविक तौल र शुद्धता परीक्षण गर्ने प्रक्रिया समेत सुरु गरेको जनाएको छ।