पर्वतमा जिप दुर्घटना : वडा सदस्यको निधन, दुई जना घाइते
काठमाडौँ, जेठ १९ । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक स्थानीय जनप्रतिनिधिको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप आर्थरडाँडाखर्कको अँधेरीनेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको छ ।
सडकबाट करिब पाँच सय मिटर तल खसेको जिपमा सवार पौडेलको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार, घाइते पौडेललाई तत्काल उपचारका लागि पोखरा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परी जिप चालक २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन् । घाइते दुवै जनाको हाल पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।