मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री: कृष्णप्रसाद यादवले लिए शपथ, २४ गते विश्वासको मत लिने

जनकपुरधाम, २१ मङ्सिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ खुवाएका हुन्।

मुख्यमन्त्री यादवले आगामी मंसिर २४ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सात दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन्।

यसअघि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो।

एमालेका यादवले प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेपछि गठबन्धनका दलहरूले कांग्रेस दलका नेता यादवलाई मुख्यमन्त्रीको रूपमा चयन गरेका थिए। मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनी निकट स्रोतले जनाएको छ।