झापामा तीन वर्षमा ७५ एचआइभी सङ्क्रमितको मृत्युदरमा वृद्धि

झापा, २२ मङ्सिर । झापा जिल्लामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले दिएको जानकारीअनुसार, जिल्लामा एचआइभी सङ्क्रमितको मृत्युदर बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उहाँले बताउनुभयो।

दासले उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्यमा झरेको भए तापनि मृत्युदर बढेको उल्लेख गर्नुभयो। चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन्। तीमध्ये ४ जनाले दमक अस्पताल र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन्।

झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन्। जिल्लामा १८ वर्षमुनिका ३० जना बालबालिका सङ्क्रमित रहेको फोकल पर्सन दासले बताउनुभयो। स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा यी बालबालिकालाई प्रतिमहिना रु एक/एक हजारको दरले सहयोग प्राप्त भइरहेको छ। नयाँ सचेतना समूह भद्रपुरमा रहेका सबै ३० जना बालबालिकाले एआरटी सेवा लिँदै आएका छन्।

कार्यालयको तथ्याङ्कअनुसार, आव २०७९/८० मा ७० जना नयाँ र कुल ६६३ जना, आव २०८०/८१ मा ७४ जना नयाँ र कुल ७५० जना, तथा आव २०८१/८२ मा ५६ जना नयाँ र कुल ७८४ जना एचआइभी सङ्क्रमित उपचाररत रहेका थिए।