विश्वकपमा टोली संख्या विस्तारको आलोचना गरेपछि युइएफए अध्यक्षको चौतर्फी विरोध

 

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ मा सहभागी टोलीको संख्या बढाएर ४८ पुर्‍याइएको विषयमा युइएफए  का अध्यक्ष अलेक्जेन्डर सेफेरिनले गरेको टिप्पणीप्रति विभिन्न महादेशका फुटबल निकायहरूले कडा आपत्ति जनाएका छन् ।

४८ टोली सहभागी हुने विश्वकपमा धेरै खेलहरू ‘नैरस’  हुने भनी सेफेरिनले दिएको अभिव्यक्तिलाई लिएर एसिया, अफ्रिका र क्यारिबियन क्षेत्रका १३ भन्दा बढी राष्ट्रले संयुक्त रूपमा विरोध गरेका हुन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अल्जेरिया, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका, ट्युनिसिया, जोर्डन, उज्वेकिस्तान, केप भर्डे, कंगो, कुरासाओ र हाइटीले सेफेरिनको भनाइलाई सम्मानपूर्वक तर दृढताका साथ अस्वीकार गरेका छन् ।

‘कुनै पनि खेल कम महत्त्वको हुँदैन’
सहभागी राष्ट्रहरूले विश्वकपको कुनै पनि खेल महत्त्वहीन नहुने स्पष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, “हाम्रा देशहरूका लागि विश्वकपको कुनै पनि खेल कम महत्त्वको हुँदैन । फुटबल केही सीमित राष्ट्रहरूको मात्र पेवा होइन, यसको शक्ति नै यसको विश्वव्यापीकरणमा छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “धेरै देशका लागि विश्वकपमा सहभागिता जनाउनु केवल खेलकुदको उपलब्धि मात्र होइन । यो एउटा यस्तो क्षण हो जसले सिंगो पुस्तालाई प्रेरित गर्छ, फुटबलको विकासलाई गति दिन्छ र जीवनभरका लागि सम्झनाहरू सिर्जना गर्छ ।”

सेफेरिनको विवादास्पद टिप्पणी
स्लोभेनियाली सञ्चारमाध्यमका अनुसार, अध्यक्ष सेफेरिनले गत सोमबार लुब्लियानामा आयोजित एक कार्यक्रममा विस्तारित विश्वकपको ढाँचामाथि प्रश्न उठाएका थिए । उनले भनेका थिए, “हामीसँग यस्ता ठूलो संख्यामा खेलहरू हुनेछन् जुन पूर्ण रूपमा नैरस  हुनेछन् ।” यद्यपि, उनले साना राष्ट्रहरूले विश्वकपको अनुभव लिन पाउनु सकारात्मक पक्ष भएको पनि उल्लेख गरेका थिए ।

नयाँ राष्ट्रहरूको गौरव
सन् २०२६ को विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ, जहाँ साबिकको ३२ टोलीको स्थानमा ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका छन् भने कंगो र हाइटी सन् १९७४ पछि पहिलो पटक विश्वमञ्चमा फर्किएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “कंगो र हाइटी जस्ता राष्ट्रहरूका लागि दशकौंको प्रतीक्षापछि विश्वकपमा फर्कनुको अर्थ करोडौं समर्थकका लागि विशेष छ । यस्ता खेलहरूलाई कम महत्त्वको भन्नु निराशाजनक छ र यसले खेलाडी, प्रशिक्षक र समर्थकहरूको प्रयास र बलिदानको अपमान गर्छ ।”

अन्त्यमा, सहभागी राष्ट्रहरूले हरेक टोलीले योग्यताका आधारमा आफ्नो स्थान सुरक्षित गरेको र विश्वकपमा छनोट भएका सबै राष्ट्र सम्मानका हकदार रहेको भन्दै फुटबलको विश्वव्यापी विस्तारलाई रोक्न नहुने बताएका छन् ।(स्रोतः एपी तथा अन्तराष्ट्रिय न्यूज एजेन्सी)