विश्वकपमा जर्मनीको फराकिलो जित, कुरासाओमाथि ७–१ गोलको वर्षा
काठमाडौँ, असार १ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा जर्मनीले विश्वकपमा पहिलोपटक सहभागी बनेको कुरासाओलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
ह्युस्टन स्टेडियममा आइतबार राति सम्पन्न खेलमा जर्मनीका लागि फेलिक्स नेमेचाले छैटौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा लिभानो कोमेनेसियाले गोल गर्दै कुरासाओलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो खुशी लामो समय टिक्न सकेन।
जर्मनीका निको श्लोटरबेकले ३८औं मिनेटमा हेडमार्फत गोल गरे भने काइ हाभर्ट्जले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–१ को आरामदायी अग्रता दिलाए।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जमाल मुसियालाले गोल थपेपछि कुरासाओ थप दबाबमा परेको थियो। त्यसपछि नाथानिएल ब्राउन (६८औं मिनेट) र डेनिज उन्डाभ (७८औं मिनेट) ले गोल गरे। खेलको ८८औं मिनेटमा हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको ७–१ को शानदार जित सुनिश्चित गरे।
यस जितसँगै चार पटकको विश्व च्याम्पियन जर्मनी समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो विश्वकप खेलिरहेको कुरासाओ भने भारी हारपछि आगामी जुन २० मा हुने इक्वेडरसँगको महत्वपूर्ण खेलको तयारीमा केन्द्रित हुनेछ।