बागमतीमा हिउँदे अधिवेशन बोलाउन विपक्षीको माग, सरकारलाई विशेष अधिवेशनको चेतावनी

काठमाडाैं, ३ पुस । बागमती प्रदेशका विपक्षी दलहरूले प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन्। नेकपा, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

विपक्षी दलहरूले प्रदेश सरकार संसद्प्रति उत्तरदायी नभएको र लामो समयदेखि संसद् छलेर भाग्न खोजेको गम्भीर आरोप लगाएका छन्।

ज्ञापनपत्रमा हालैको ‘जेनजी विद्रोह’ पछि मुलुक सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ। सङ्घीय संसद्समेत विघटन भइसकेको विषम परिस्थितिमा जनताका आवाज मुखरित गर्ने थलो प्रदेशसभालाई लामो समय बन्द राखी अनिर्णयको बन्दी बनाउन नहुनेमा विपक्षी दलहरूले जोड दिएका छन्।

सरकारले नियमित अधिवेशन नबोलाए कडा कदम चालिने चेतावनी विपक्षीले दिएका छन्। संसदीय व्यवस्था र प्रदेशसभा नियमावलीअनुसार एक चौथाइ सांसदको हस्ताक्षरमा विशेष अधिवेशन वा बैठक बोलाउन सकिने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै, विपक्षी दलहरूले सरकारलाई त्यस्तो बाध्यात्मक परिस्थिति सिर्जना नगर्न सचेत गराएका छन्।

उक्त ज्ञापनपत्रमा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन्।