शीतलहरले सप्तरीको जनजीवन प्रभावित: राजविराजसहित विभिन्न पालिकाका विद्यालयमा बिदा
राजविराज, १५ पुस । सप्तरीमा केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयहरूमा बिदा दिने निर्णय गरेका छन्। राजविराज नगरपालिकासहित तीनवटा पालिकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुधबारदेखि लागू हुने गरी विद्यालय बन्द गरेका हुन्।
राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवका अनुसार पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिनका लागि नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको छ। चिसोका कारण विद्यार्थीहरूलाई विद्यालय आउन-जान समस्या भएपछि यस्तो निर्णय लिइएको हो।
यसैगरी, महादेवा र अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिनका लागि पठनपाठन बन्द गराएका छन्। महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम औँल्याउनुभएको छ। त्यस्तै, अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ।
जिल्लाका अन्य पालिकाहरूले पनि यसअघि नै जाडो बिदा दिइसकेका छन्। डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले पुस १८ गते शुक्रबारसम्मका लागि पाँच दिनको बिदा घोषणा गरेका छन् भने बोदेवरसाइन नगरपालिकाले पुस ९ देखि १३ गतेसम्म विद्यालय बन्द गराएको थियो।
सप्तरीमा बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र दिउँसो चल्ने चिसो हावाका कारण जनजीवन अत्यन्तै प्रभावित भएको छ। चिसोको प्रत्यक्ष असर बालबालिका, वृद्धवृद्धा र पशुचौपायामा परेको छ।
चिसो बढेसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललगायतका स्वास्थ्य संस्थामा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। अस्पताल प्रशासनका अनुसार हाल अस्पतालमा रुघाखोकी, ज्वरो, दम र श्वासप्रश्वासका बिरामीहरूको सङ्ख्या बढेको छ। स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न र न्यानो लुगा लगाउनुका साथै तातो झोलिलो खानेकुरा खान सर्वसाधारणलाई आग्रह गरेका छन्।