बसाइसराइले गर्दा व्यासको छाङरु र तिङ्करको मतदान सदरमुकाम खलङ्गामा हुने
काठमाडौँ, पुस २६ । हिमाली क्षेत्रमा जाडो छल्नका लागि हुने स्थानीयको बसाइसराइ (कुञ्चा) का कारण व्यास गाउँपालिका–१, छाङरु र तिङ्करका मतदाताले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने भएका छन् । गत मङ्सिर महिनामा नै स्थानीय बासिन्दा सदरमुकाम झरिसकेकाले यसपटक मतदान केन्द्र खलङ्गामै कायम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार २०७९ को स्थानीय तह निर्वाचनमा गाउँमै मतदान भए पनि यसपटक विशेष परिस्थितिका कारण केन्द्र सारिएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार छाङरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिङ्करको मोतिमहिला सङ्घ केन्द्रमा २४४ मतदाता रहेका छन् ।
समग्र दार्चुला जिल्लामा यसपटक १४३ मतदान केन्द्र तोकिएका छन्, जसमध्ये २२ केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । जिल्लामा कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन्, जुन २०७९ को तुलनामा २ हजार १६६ ले बढी हो । सुरक्षा समितिले भौगोलिक विकटता र सुरक्षा पहुँचका आधारमा केन्द्रहरूको वर्गीकरण गरी सुरक्षा व्यवस्था कडा पारेको छ ।