‘ट्राफिक सप्ताह’

सडक पूर्वाधार र उपयोग अनुशासनमा सबैले जिम्मेवारी लिन सके सडक दुर्घटना घटाउन सकिने उपप्रमुख डंगोलको भनाइ

काठमाडौँ,  पुस २६ । काठमाडौँ उपत्यकामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ ‘ट्राफिक सप्ताह–२०८२’ औपचारिक रूपमा सुरु भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथद्वारा आयोजित यस विशेष अभियानको शनिबार एक विशेष समारोहका बीच शुभारम्भ गरियो ।

अभियानको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै सबै नागरिकले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिनुभयो । सडक सुरक्षाका लागि वर्षेनी प्रतिबद्धता जनाइए पनि दुर्घटनाको संख्या नघट्नु चिन्ताको विषय भएको उहाँको भनाइ थियो । विशेषगरी टिप्पर चालकहरूको लापरवाहीका कारण सडकमा जोखिम बढेको गुनासोप्रति उहाँको चिन्ता थियो ।

शुक्रबारदेखि सुरु भएको यो अभियान माघ २ गतेसम्म सञ्चालन हुनेछ । ट्राफिक प्रहरीका अनुसार यस सप्ताहमा दुर्घटना न्यूनीकरणका लागि विविध रचनात्मक र प्रयोगात्मक कार्यक्रमहरू समावेश गरिएका छन्  । 

अभियानको सुरुवात रक्तदान कार्यक्रमबाट गरिएको छ । दूरसञ्चार प्रदायक कम्पनीहरूसँगको समन्वयमा ट्राफिक सचेतना सम्बन्धी ‘रिङटोन’ बजाउने व्यवस्था मिलाइनेछ । सार्वजनिक तथा भाडाका सवारी साधनहरूमा अनिवार्य जीपीएस र सीसीक्यामेरा जडान गर्न समन्वय गरिने भएको छ । रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारी साधनहरूमा दुर्घटना न्यूनीकरण सम्बन्धी एक मिनेटको वृत्तचित्र प्रदर्शन गरिने प्रवक्ता एसपी नरेशराज सुवेदीको भनाइ छ ।

पछिल्लो समय बढ्दो राइड सेयरिङ एप प्रयोगकर्ता र चालकहरूलाई लक्षित गरी विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

काठमाडौँका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी होर्डिङ बोर्डहरू राख्ने र सडक सुरक्षाका वृत्तचित्रहरू प्रदर्शन गर्ने कार्यलाई पनि यसै साता तीव्रता दिइने प्रहरीले जनाएको छ ।