होल्डिङ सेन्टरका नागरिकको व्यवस्थापन र पुनःस्थापना गर्न सांसदहरूको माग

काठमाडौँ,  जेठ ११ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको तत्काल पुनःस्थापना र उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा ‘होल्डिङ सेन्टर स्थलगत अवलोकन प्रतिवेदन’ माथि छलफल गर्दै सांसदहरूले घरबारविहीन नागरिकलाई सुरक्षित रूपमा पुनःस्थापित गर्नु राज्यको मुख्य दायित्व भएको बताए ।

होल्डिङ सेन्टरमा रहेकाहरूका लागि सामाजिक सुरक्षा र रोजगारीका अवसरहरू सिर्जना गरिनुपर्ने, त्यहाँ रहेका अनाथ र गरिब बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, दीर्घरोगी, बिरामी र सुत्केरी महिलाहरूका लागि आवश्यक औषधि र पौष्टिक आहारको अभाव देखिएकाले त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने, सेन्टरमा गोपनीयताको कमी र भविष्यको अनिश्चितताका कारण कतिपय व्यक्तिमा मानसिक असर परेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

सांसदहरूले होल्डिङ सेन्टरका नागरिकलाई निर्णय प्रक्रियामा समेत सहभागी गराउँदै उनीहरूको जीवन सहज बनाउन स्पष्ट योजना ल्याउन सरकारलाई सुझाव दिएका छन् ।