स्वास्थ्य बीमाको रकम खर्चसम्बन्धी मापदण्ड खारेज, अब अस्पतालले आफूखुसी भत्ता बाँड्न नपाउने
काठमाडौँ, १५ माघ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरू (अस्पताल) का लागि यसअघि तोकिएको ‘सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड’ खारेज गरेको छ ।
बीमा वापत प्राप्त हुने रकम कुन शीर्षकमा कति खर्च गर्ने भन्नेबारे विगतमा तोकिएको प्रतिशतगत व्यवस्थाले विकृति ल्याएको भन्दै बोर्डले उक्त मापदण्ड खारेज गरेको हो ।
के थियो पुरानो व्यवस्था ?
बोर्ड गठन हुनुअघि तत्कालीन ‘सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति’ ले २०७३ साउन १० गते खर्चसम्बन्धी मापदण्ड तय गरेको थियो । जसमा सेवा प्रदायक संस्थाले बीमाबाट प्राप्त रकममध्ये औषधिमा ३५ प्रतिशत, औजार उपकरणमा ३० प्रतिशत, जनशक्तिमा १५ प्रतिशत, प्रोत्साहन भत्तामा १० प्रतिशत र प्रशासनिक तथा व्यवस्थापन खर्चमा १० प्रतिशत छुट्याउन पाउने व्यवस्था थियो ।
किन गरियो खारेज ?
पछिल्लो समय अस्पतालहरूले बीमा बोर्डबाट भुक्तानी पाएको रकम औषधि र उपकरणजस्ता अत्यावश्यक क्षेत्रमा भन्दा प्रशासनिक खर्च र प्रोत्साहन भत्तामा बढी प्रयोग गरेको गुनासो बढेको थियो ।
बोर्डका एक उच्च अधिकारीका अनुसार बीमाको रकम गुणस्तरीय सेवा प्रवाहमा खर्च हुनुपर्नेमा अस्पतालहरूले बोनस र भत्तामा केन्द्रित गरेको पाइएपछि यो कदम चालिएको हो ।
नयाँ निर्देशन के छ ?
बोर्डको गत पुस २४ गतेको बैठकले पुरानो मापदण्ड खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले माघ १३ गते सबै सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गरेका छन् ।
परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमा बोर्डबाट सेवा प्रदायक स्वास्थ्य संस्थालाई जाने भुक्तानीको खर्च प्रचलित कानुन बमोजिम हुने निर्णय भएकाले बोर्डबाट प्राप्त हुने दाबी भुक्तानी रकम प्रचलित नियमानुसार खर्च गर्नुहोला ।’
अब के हुन्छ ?
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अब पुरानो प्रतिशतको आधारमा खर्च गर्ने बाटो बन्द भएको छ । सुरुवाती चरणमा बीमा कार्यक्रमलाई आकर्षक बनाउन र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न त्यो व्यवस्था ल्याइएको भए पनि अब त्यसको औचित्य सकिएको मल्लले बताए ।
‘अब प्रतिशत तोकिँदैन, बीमाको रकम प्रचलित ऐन, नियम र कानुन बमोजिम औषधि, उपचार, उपकरण तथा जनशक्ति व्यवस्थापनमा नै खर्च हुनुपर्छ,’ मल्लले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित होस् भन्ने बोर्डको मुख्य उद्देश्य हो ।’