पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी सञ्चालनमा : यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ, जेठ २८ । पछिल्लो दुई दिनदेखिको अविरल वर्षा र त्यसपछि खसेको पहिराका कारण अवरुद्ध बनेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । मङ्गलबार र बुधबारको वर्षाले करिडोरको विभिन्न खण्डमा क्षति पुर्‍याउँदा यातायात ठप्प भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका ८ स्थित खुलालुदेखि बाजुराको सिमाना लैफुसम्मको सडकखण्डमा लेदोसहितको पहिरो खसेको थियो । सुर्खेत हुम्ला सडकखण्ड जोड्ने यस मार्गका विभिन्न स्थानमा थुप्रिएको पहिरो र लेदो हटाएपछि सवारी आवागमन पुनः सुरु भएको हो ।

सडक सञ्चालनमा आए पनि यात्रा अझै जोखिममुक्त नरहेको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी जनक शर्माले सडकको माथिल्लो भिरालो भागबाट ढुङ्गा खस्ने जोखिम कायमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा सडक साँघुरो हुनुका साथै एकतर्फी मात्र खुलेकाले सवारी चालक र यात्रुहरूलाई उच्च सावधानी अपनाउन अनुरोध गर्दछौँ ।”

वर्षायाम सुरु भएसँगै कर्णाली करिडोरका विभिन्न क्षेत्रमा पहिरो जाने जोखिम बढ्ने भएकाले सुरक्षित यात्राका लागि प्रशासनले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सम्बन्धित निकायले सडकलाई पूर्ण रूपमा सुचारु गराउन थप प्रयास जारी राखेको छ ।