४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, १० हजार बढी बाकस ‘प्याकिङ’
काठमाडौँ, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्यले तीव्र गति लिएको छ ।
निर्वाचन आयोगका अनुसार सोमबारसम्म ४४ जिल्लाका १०० वटा निर्वाचन क्षेत्रका लागि आवश्यक पर्ने प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छपाइ कार्य अन्तर्गत हालसम्म कुल १ करोड २२ लाख ५६ हजार थान मतपत्र तयार भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
आयोगका अनुसार हालसम्म हिमाली, पहाडी र केही तराईका जिल्लाहरूको छपाइ सकिएको छ । जसमा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर रहेका छन् ।
यसैगरी कोशी र गण्डकी प्रदेशका पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, झापा, मोरङ, उदयपुर, बागलुङ, गुल्मी, गोरखा, म्याग्दी, पर्वत, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया र बर्दघाट सुस्ता पश्चिम (नवलपरासी) को पनि छपाइ सम्पन्न भइसकेको छ ।
छपाइ सम्पन्न भएका मतपत्रहरूलाई सुरक्षित रूपमा सम्बन्धित जिल्ला पठाउनका लागि ‘प्याकिङ’ गर्ने काम पनि सँगसँगै भइरहेको छ । आयोगका अनुसार हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ गरी ढुवानीका लागि तयार अवस्थामा राखिएको छ ।
समानुपातिक मतपत्र: समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार थान मतपत्रको छपाइ माघ १३ गते नै सम्पन्न भई रुजु र प्याकिङको काम सकिसकेको छ ।
प्रत्यक्षतर्फको लक्ष्य: पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको लक्ष्य छ । यसको छपाइ माघ १६ गतेदेखि सुरु गरिएको हो ।
नमुना मतपत्र: मतदाता शिक्षाका लागि आवश्यक १० लाख ९८ हजार २०० नमुना मतपत्र यसअघि नै जिल्लाहरूमा पठाइसकिएको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले छपाइ र ढुवानी व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । बाँकी जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रहरू पनि आगामी केही दिनभित्रै छापिसक्ने आयोगको तयारी छ ।