काठमाडौँ महानगरमा अन्तर विद्यालय साहित्यिक प्रतियोगिता : नेपालभाषा विधामा गैरनेपालभाषी विद्यार्थीको वर्चस्व
काठमाडौँ, जेठ २७ । काठमाडौँ महानगरपालिका वडा नं. २३ को आयोजनामा प्रसिद्ध बाल साहित्यकार तथा पूर्व वडाध्यक्ष स्व. शान्तदास मानन्धरको स्मृतिमा ‘तेस्रो महानगरव्यापी अन्तर विद्यालय कविता तथा निबन्ध प्रतियोगिता’ सम्पन्न भएको छ। बालसेवा माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा महानगरभित्रका २३ वटा विद्यालयका करिब १५० विद्यार्थीको सहभागिता रहेको थियो ।
स्थानीय पाठ्यक्रमको प्रभाव : नेपालभाषामा गैरनेपालभाषीको सफलता
यस प्रतियोगिताको सबैभन्दा उल्लेखनीय पक्ष नेपालभाषा (नेवारी) विधाको नतिजा रह्यो। काठमाडौँ महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीका’ (काठमाडौँलाई चिनौँ) को प्रभावस्वरूप गैरनेपालभाषी विद्यार्थीहरूले नेपालभाषामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै प्रमुख पुरस्कारहरू हात पारेका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरू सम्मिलित सो प्रतियोगितामा नेपालभाषा र नेपाली दुवै भाषामा कविता तथा निबन्ध लेखन स्पर्धा गराइएको थियो ।
प्रतियोगिताको नतिजा र पुरस्कार
नेपालभाषा कविता : विश्वनिकेतन माविका आमुल अधिकारी प्रथम हुनुभयो। यस्तै सोफिया डंगोल (कन्या मावि) दोस्रो, आराधना खड्का (महाङ्काल मावि) तेस्रो र सुशीला जैसी (कान्ति निकुञ्ज मावि) ले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
नेपालभाषा निबन्ध : ज्ञानोदय माविकी वर्षा श्रेष्ठ प्रथम हुनुभयो। प्रीति साह (नेपाल आदर्श मावि) दोस्रो, याङ्गचेन लामा (जगतसुन्दर ब्वनेकुथि) तेस्रो र अरुणा महत (पद्मकन्या विद्याश्रम) सान्त्वना घोषित हुनुभयो ।
नेपाली निबन्ध : रत्नराज्य माविका मुकेश जोशी प्रथम, सुवास्ना खड्का केसी (विजेश्वरी सैनिक महाविद्यालय) दोस्रो, सदीक्षा न्यौपाने (रत्नराज्य मावि) तेस्रो र प्रजिश कार्की (सैनिक महाविद्यालय) सान्त्वना हुनुभयो ।
नेपाली कविता : न्यू जेनिथका सन्देश गौतम प्रथम, स्मारिका बलायर (जनकल्याण मावि) दोस्रो, कृति गौतम (विश्व निकेतन मावि) तेस्रो र युवराज शाह (नेपाल आदर्श मावि) ले सान्त्वना स्थान हासिल गर्नुभयो ।
विजेताहरूलाई नगद पुरस्कार (निबन्धतर्फ क्रमश: १५, १०, ७ र ५ हजार तथा कवितातर्फ १०, ७, ५ र २ हजार रुपैयाँ) सहित शैक्षिक सामग्री र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सांस्कृतिक एकतामा जोड
प्रतियोगिताका निर्णायक वरिष्ठ साहित्यकारहरू रमेशकाजी स्थापित, नारद वज्राचार्य र पूर्णिमा शाक्य रहनुभएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समिति संयोजक मचाराजा महर्जनले बालबालिकालाई स्थानीय कला, संस्कृति र साहित्यसँग जोड्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यसैगरी, पूर्व वडाध्यक्ष पवित्र वज्राचार्य र कार्यक्रम संयोजक सुरेश मानन्धरले बालमैत्री साहित्यको माध्यमबाट भाषा र संस्कृति संरक्षणमा जोड दिनुपर्ने धारणा राख्नुभयो। यो प्रतियोगिताले विद्यालयहरूमा भाषागत सीप मात्र नभई सांस्कृतिक एकता र भाइचाराको सन्देश समेत प्रवाह गरेको सहभागीहरूले महसुस गरेका छन् ।