चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने विजयी
काठमाडौँ, फागुन २३ । चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेललाई भारी मतान्तरले पराजित गर्नुभएको छ। कांग्रेस उम्मेदवार खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ४६९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि विसं २०८० मा सम्पन्न उपनिर्वाचनमा पनि लामिछाने यसै क्षेत्रबाट ५४ हजार १७६ मतसहित विजयी हुनुभएको थियो। सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।
कूल १ लाख ३७ हजार १५२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा यस पटक ८७ हजार २२१ मत खसेको थियो। निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी जम्मा २३ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका थिए ।