आजको मौसम : पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, फागुन २३ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। देशका अन्य बाँकी भू-भागमा भने आंशिक बदलीको अवस्था छ।
दिउँसोको पूर्वानुमान:
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा भने बिहानको समयमा हुस्सु लाग्ने अनुमान गरिएको छ।
रातिको पूर्वानुमान:
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागमा मौसम साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै स्थानहरूमा रातिको समयमा तुँवालो लाग्न सक्ने विभागको पूर्वानुमान छ।
मौसममा आउन सक्ने यस्तो परिवर्तनका कारण पहाडी र हिमाली क्षेत्रको जनजीवन तथा यातायातमा पर्न सक्ने सामान्य प्रभावप्रति सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।