भक्तपुर–१ मा नेमकिपाको ‘किल्ला’ ढल्यो, रास्वपाका रुकेश रञ्जित विजयी
काठमाडौँ, २३ फागुन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बलियो पकड मानिएको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ ।
आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार रुकेश रञ्जितले नेमकिपाका प्रभावशाली नेता प्रेम सुवाललाई पराजित गर्दै ‘बाजी’ मार्नुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत पाउनुभएको छ । रञ्जितले सुवाललाई ५ हजार २८९ मतान्तरले पराजित गर्नुभएको हो ।
दशकौँदेखि नेमकिपाको बर्चस्व रहँदै आएको यस क्षेत्रमा सुवालको पराजयलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
यस निर्वाचन क्षेत्रमा ठूला दल मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) को प्रदर्शन भने निकै कमजोर देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत मात्र प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का सोमप्रसाद मिश्र ३ हजार ७२१ मतमा सीमित हुनुभएको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरत बहादुर खड्काले २ हजार ४७२ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका हरिराम लवजूले १ हजार १७७ मत पाउनुभएको छ ।