आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

काठमाडौँ, असार १२ । आज असार १२ गते (जुन २६), ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस’ देशभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । समाजमा लागुऔषधले पारिरहेको गम्भीर नकारात्मक प्रभावबारे जनचेतना फैलाउने र यसको रोकथामका लागि साझा ऐक्यबद्धता जनाउने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्ष जुन २६ लाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन प्रारम्भ गरिएको थियो । लागुऔषधमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने दीर्घकालीन लक्ष्यका साथ विश्वभर नै अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउनु यस दिवसको मुख्य मर्म रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदनअनुसार पछिल्ला दशकहरूमा विश्वव्यापी रूपमा लागुऔषधको प्रयोग र बजारमा यसको उपलब्धता चिन्ताजनक ढङ्गले बढिरहेको छ । विशेषगरी कोकिनको उत्पादन, अवैध ओसारपसार र प्रयोगमा वृद्धि भएको पाइएको छ ।

त्यसैगरी, कम लागतमा उत्पादन गर्न सकिने र सुरक्षा निकायलाई पत्ता लगाउन समेत चुनौतीपूर्ण मानिने कृत्रिम (सिन्थेटिक) लागुऔषधको अवैध कारोबार तीव्र रूपमा विस्तार भइरहेको भन्दै राष्ट्रसङ्घले गम्भीर चासो व्यक्त गरेको छ । यसरी बढ्दो लागुऔषधको जालोले जनस्वास्थ्य र सुरक्षामा ठूलो चुनौती थपेको छ ।